विपद् पश्चात्को शव व्यवस्थापन सम्बन्धी मार्गदर्शन, २०६८
भौगर्भिक र भू-धरातलीय बनोटले गर्दा बाढी, पहिरो, भूकम्प, आगलागी, महामारी जस्ता विभिन्न प्रकारका विपद्हरूबाट नेपाल उच्च जोखिमयुक्त अवस्थामा रहेको छ । वि.सं. १९९० सालको र २०४५ सालको भूकम्प, २०६६ सालको मध्यपश्चिम क्षेत्रको महामारी आदिले कयौं मानिसको ज्यान लिइसकेको छ । यसका साथै समय-समयमा हुने हवाई, जल तथा सडक यातायात दुर्घटनाले पनि एकै पटक धेरै व्यक्तिको ज्यान जाने गरेको छ । काठमाडौं उपत्यकाको सम्भावित भूकम्पीय जोखिम र त्यसबाट हुन सक्ने जनधनको क्षतिको आंकलन गर्दा पनि एउटै विपदबाट धेरै व्यक्तिको मृत्यु हुन सक्ने र त्यस्तो अवस्थामा प्रभावकारी रूपमा शवको व्यवस्थापन गर्न एक निश्चित मार्गदर्शनको अवश्यकता पर्ने देखिएको छ । छोटो समयमा धेरै व्यक्तिको मृत्यु भएको अवस्थामा यसको सही व्यवस्थापन चुनौतीपूर्ण हुनसक्छ । जसले प्रतिकार्यमा संलग्न व्यक्तिहरू, विपद् प्रभावित व्यक्तिहरू, समाज र स्थानीय प्रशासनलाई तनावपूर्ण अवस्थामा पुर्याउन सक्छ । जुनसुकै खालको विपद्को अवस्थामा पनि विपद् प्रभावित व्यक्तिको उद्धार तथा राहत कार्य सँगसँगै विपद्बाट मृत्यु भएकाहरूको शवको सही व्यवस्थापन गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
विपद् पश्चात् शवको सम्मानजनक रूपबाट संकलन तथा भण्डारण गर्नु, शवको सही पहिचान गरी सम्बन्धित परिवारलाई हस्तान्तरण गर्नु तथा आ-आफ्नो धार्मिक संस्कार अनुसार अन्तिम संस्कार गर्नु अत्यन्तै महत्वपूर्ण हुन्छ । शवको सही पहिचान हुन नसकेमा त्यसबाट सम्बन्धित शोकसन्तप्त परिवारलाई ठूलो मानसिक तथा सामाजिक प्रभाव पर्न जान्छ । साथै शवको सही पहिचान नभएमा प्रभावित परिवारले विभिन्न कानुनी अड्चनहरूको समेत सामना गर्नुपर्ने हुन्छ । यस प्रकारको परिस्थितिले परिवार र समुदायको पुनःस्थापना एवं पुनःनिर्माण कार्यमा पनि महत्वपूर्ण प्रभाव पार्दछ । यी समग्र परिस्थितिमा विपदबाट मृत्यु हुनेहरूको शवको प्रभावकारी व्यवस्थापन गर्न यो निर्देशिका तर्जुमा गरिएको छ ।
यससंग साथै संलग्न जोडिएका विवरणहरु
| शिर्षक | आकार | डाउनलोड गर्नुहोस् |
|---|---|---|
| विपद् पश्चात्को शव व्यवस्थापन सम्बन्धी मार्गदर्शन | 556.92 KB |
डाउनलोड गर्नुहोस्
|
